Logo

वैदेशिक रोजगारीका लागि दुवई पुगेका शम्भु विगत ११ महिनादेखि अलपत्र, नेपाल फर्काउन सहयोग गरिदिन कल्पनाको हारगुहार



काठमाडौं, २७ मंसिर । रामेछापको रामेछाप नगरपालिका–९ कि कल्पना विश्वकर्माले वैदेशि रोजगारीको क्रममा दुवई गएका आफ्ना श्रीमान शम्भु विश्वकर्मालाई नेपाल झिकाउन सहयोग गरिदिन अपील गरेकी छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना श्रीमानलाई बैंकिङ कसुरमा फसाइएको र विगत एक वर्षदेखि अलपत्र अवस्थामा दुवइको सडक पेटीमा बस्दै आएको बताईन्् ।

कल्पनाका अनु्सार उनका श्रीमान शम्भु काठमाडौंको टोखा–५ बुढानीलकण्ठमा रहेको मोभिरा ओभरसिज प्रा.लि.बाट वैदेशिक रोजगारीका लागि दुवई गएका थिए । कम्पनीले करार सम्झौताबमोजिम तलब, सेवा, सुविधा उपलब्ध नगराएपछि आफ्ना श्रीमान शम्भुले सो कम्पनी छाडेर भागेको कल्पनाले बताईन् ।

त्यसपछि एक पाकिस्तानी नागरिकले काम लगाइदिएको उनले बताईन् । उक्त पाकिस्तानी नागरिकले शम्भुको आईडी कार्ड र हस्ताक्षर दुरुपयोग गरी एक वित्तीय संस्थाबाट ऋण लिएपछि उनलाई नेपाल आउन नदिइएको कल्पनाको भनाइ छ ।

कल्पनाका अनुसार पाकिस्तानी नागरिकले शम्भुको कागजात र हस्ताक्षर दुरुपयोग गरी बैंकिङ ठगी गरेको कारण १२ लाख बढी नेपाली रुपैयाँ तिरेमात्रै उनी नेपाल आउने वातावरण बन्ने छ । आफ्नो घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको र कमाउन वैदेशिक रोजगारीका लागि दुवई पुगेका श्रीमान पनि विचल्ली अवस्थामा रहेको भन्दै उनले आफूले सकेको सहयोग गरिदिन अपिल गरेकी छन् ।

‘म गरिब व्यक्ति हो । मेरो केही पनि नभएको कारण कसैले पनि कुरा सुन्दा रहेनछन् । मलाई सकेको सहयोग गरेर मेरो श्रीमानलाई नेपाल झिकाउनु होला । मेरो श्रीमानको ज्यान बचाउनुहोला । उहाँले भन्नुहुन्छ– म आत्महत्या गरेँ भने पनि मेरो लास नेपाल आउँदैन । मलाई पीडा हुन्छ । मेरो बच्चाले पढ्नसमेत पाएको छैन,’– उनले भनिन् ।

साथै, शम्भु वैदेशिक रोजगारीमा गएको मोभिरा ओभरसिजबाट नेपाल फिर्ता ल्याउन कुनै प्रयास नै नभएको उनको भनाइ छ । सरकारी निकायहरुबाट पनि आफूले सहयोग नपाएको उनले बताईन् ।

वित्तीय अपराधमा दुवइको अबुधावी अदालतले शम्भुलाई दोषी ठहर गरेको र साढे १२ लाख रुपैयाँ नबुझाइ उनी नेपाल आउन सक्ने अवस्था नै नरहेको उनले बताईन् । शम्भुलाई केही समय हिरासतमा राखेर अहिले छाडिएको उनको भनाइ छ ।

उनले कल्पना विश्वकर्माको नाममा रहेको एसबीआई बैंकको खाता नं. २१४१५२४३४०१५०२ मा सहयोग पठाउन वा आफूलाई ९८४०५५२५७५ मा फोन गरेर बुझ्न पनि आग्रह गरिन् ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले शम्भु विश्वकर्मालाई नेपाल फर्काउन सहयोग गरिदिन अपिल गरेका छन् । शम्भुलाई नेपाल झिकाउन रिपोर्टर्स क्लबले अभियान नै सुरु गरेको उनले बताए । ‘शम्भु विश्वकर्मालाई नेपाल झिकाउन १२ लाख रुपैयाँ चाहिन्छ । अब हामीले त्यो रकम संकलन गर्नै पर्छ । त्यसको लागि आजैबाट सुरु गरौं,’– उनले भने ।

साथै, धमलाले आफू नेपाली कामदारहरुको समस्या बुझ्न र समाधानको लागि पहल गर्न खाँडी मुलुकहरुमा जान लागेको पनि बताए । उनले भने,‘अब जहाँ नेपाली श्रमिकले काम गर्छन्, दुवई, कुवेतदेखि मलेसियासम्म, त्यहाँका नेपालीहरुको पीडा बाहिर ल्याउने छु । श्रम बजारमा नेपालीहरुले भोगेको समस्या, दुःख देखाउने छु । म विदेशमा रहेका नेपालीहरुसँग संवाद गर्छु । म करिब एक महिनापछि अभियान सुरु गर्दैछु ।’



प्रतिक्रिया दिनुहोस्