काठमाडौं, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने गतिविधिविरुद्ध सरकार निर्मम रुपले प्रस्तुत हुने बताएका हुन् ।
‘साइबर क्राइममा खासगरी घृणात्मक अभिव्यक्तिहरू बढिरहेको छ। कसैको व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, भूगोल, धर्म र भाषाको बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढिरेहेको छ। अपराध नियन्त्रणका लागि कुनै पनि खालको सम्झौता नगरी निर्मम ढंगले प्रस्तु हुन आवश्यक छ,’– उनले भने ।
विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुक समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए । गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिए ।
मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको उनको भनाइ छ । ‘परम्परागत अपराध नियन्त्रणका लागि त निरन्तर काम गर्नु परिरहेको छ, तर अहिले लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध चुनौतीपूर्ण ढङ्गले देखापरेका छन्, यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ,’– गृहमन्त्री लेखकले भने ।