Logo

प्रकाशमानसिंह राउतलाई अगाडि राखेर रमणले भने, ‘प्रधानन्यायाधीशले घुस नखाने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ’



काठमाडौं, २७ मंसिर । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले न्यायलयभित्र विकृति, विसंगति र भ्रष्टाचार रहेको बताएका छन् । नेपाल बार एशोसिएसनले मानवअधिकार दिवसको अवसरमा पोखरामा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायालयभित्र रहेको विकृति, विसंगति कसरी निमिट्यान्न पार्ने भन्ने कुरामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत जानाकार रहेको पनि उनले बताए । प्रधानन्यायाधीश राउत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनका लागि ध्यानाकार्षण गराए ।

‘एउटा कार्यक्रममा उहाँले बोल्नुभयो– प्रतिवेदनहरु दराजमा थन्क्याउन होईन, कार्यान्वयन गर्नका लागि हो । हामी कुरिरहेका छौं, उहाँ सदस्य भएको हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन होस् भन्ने कुरा कुरिरहेका छौं । न्यायपालिकाको जिम्मा म लिन्छु भनिरहनुभएको छ । हामीलाई त्यस्तै प्रधानन्यायाधीश चाहिएको हो,’– उनले भने ।

आफूहरु स्वतन्त्र, सक्षम, जिम्मेवार, भ्रष्टाचारविहीन, विकृतिविहीन न्यायालयको पक्षमा रहेको रहेको बताउँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले त्यो प्रधानन्यायाधीश राउतको कार्याकालमा सम्भव रहेको बताए । प्रधानन्यायाधीशले घुस नखाने हो भने न्यायालयभित्रका ८० प्रतिशत समस्या समाधान हुने उनको दाबी छ ।

‘हामीलाई स्वतन्त्र न्यायालय चाहिएको हो । सक्षम न्यायालय चाहिएको हो । जिम्मेवार, भ्रष्टाचारविहीन, विकृतिविहीन न्यायालय चाहिएको हो । त्यो उहाँको कार्यकालमा सम्भव छ । किन सम्भव छ भने प्रधानन्याधीशले घुस नखाने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । २० प्रतिशतमात्रै बाँकी रहन्छ । त्यसैले ८० प्रतिशत समस्याको समाधान तपाईँ आफैं हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्