Logo

सरकारी वकिललाई विद्यार्थीको प्रश्नः पीडितको वकिल भन्नुहुन्छ, तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?



काठमाडौं, २८ मंसिर । उच्च सरकारी वकिल कार्यालय, पाटनले शुक्रबार काठमाडौं रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीदेखि जिल्ला परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलगायतका सरकारी अधिकारीहरुको उपस्थित थियो। सरकारी वकिलको भूमिका, काम, कर्तव्य र अधिकार तथा समुदायप्रतिको जवाफदेहितालगायतका विषयमा अन्तरक्रिया भयो। उक्त कार्यक्रममा प्रहरी, सरकारी वकिल र विद्यार्थीको सक्रिया सहभागिता रहेको थियो ।

उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुखसमेत रहेका सहन्यायाधिवक्ता खत्रीले पूर्व प्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय र अनुपराज शर्मादेखि पूर्वसभामुख दमननाथ ढुंगानासमेत पढेको पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम राखेका थिए। उनले कार्यक्रम गर्ने ठाउँ पनि विशेष रूपमा छानेको देखियो।
समुदायमा सरकारी वकिल कार्यक्रमलाई प्रकाश पार्दै सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले सरकारी वकिल पीडितको वकिल भएको बताइन्। सरकारी वकिलले मुद्दामा बहस गर्दा पीडित पक्षले सरकारी वकिललाई पैसा दिनु नपर्ने उनले प्रस्तुतीका क्रममा सुनाईन् ।

सरकारी वकिलको तर्फबाट प्रस्तुती सकिएपछि पद्मोदयमा पढ्दै गरेका एक विद्यार्थीले लिखित रुपमै सरकारी वकिललाई प्रश्न गरे । ती विद्यार्थीको प्रश्न थियो, ‘सरकारी वकिल पीडितको वकिल भन्नुहुन्छ । तर, पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?’ जवाफमा सहन्यायाधिवक्ता खत्रीले पीडितको न्यायका लागि सरकारी वकिलले सधै सकारात्मक र कानुन बमोजिम भूमिका खेल्ने बताए। माईतीघर तिर दबाब समूहले आन्दोलन गर्ने गरेको उनले सुनाए।

कार्यक्रममा सहभागीहरुले सरकारी वकिलको नियुक्ति, योग्यताजस्ता विषयमा जिज्ञासा राखेका थिए। हाँसेर जवाफ दिएका सहन्यायाधिवक्ता खत्रीले सहभागीहरुको एक(एक गर्दै जिज्ञासा मेटाए। समुदायको सरकारी वकिलप्रतिको धारणा बुझ्न यस्तो कार्यक्रम आयोजना गर्ने गरेको सहन्यायाधिवक्ता खत्रीले प्रस्ट्याए।

कार्यक्रममा सहभागी विद्यार्थीले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीलाई प्रहरीमाथिको विश्वास गुम्दै गएको छ त्यसलाई उकास्न के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा एसपी अधिकारीले विभिन्न सर्वेक्षणले प्रहरीमाथिको जनविश्वास बढिरहेको देखाएको दाबी गरे। प्रहरी पीडितको पक्षमा काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा उच्च सरकारी वकिल, पाटनका उपन्यायाधिवक्ता मुक्तिराम सुवेदी,सहायक न्यायाधिवक्ता नमूना गोदार थापा, गिरीराज न्यौपानेलगायतले सरकारी वकिलको भूमिकाका विषयमा प्रस्तुती दिएका थिए। पद्योदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा। शर्मिला पोखरेल उच्च सरकारी वकिल कार्यालय, पाटनले जरूरी र प्रभावकारी कार्यक्रम राखेको भन्दै खुलेर प्रशंसा गरिन्। यस्ता कार्यक्रमले समुदायलाई सरकारी वकिलको भूमिका बुझ्न मद्दत गर्ने उनको विश्वास छ।



प्रतिक्रिया दिनुहोस्