काठमाडौं । राप्रपाकी नेतृ खुस्बु ओलीले झापामा रहेका बाँसका पोलहरु तत्काल हटाएर नयाँ पोलको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रबार घिसिङसँग भेट्दै ओलीले बाँसका पोल कमजोर र असुरक्षित हुने भएकाले यसले दुर्घटनाको जोखिम बढाउँनेतर्फ ध्यानाकर्षण गराएकी हुन् ।
कुलमानसँगको भेटबारे उनले लेखेकी छन्
‘झापाका धेरै ठाउँमा अझै पनि बाँसका पोलको प्रयोग र त्यसले भइरहेका समस्याबारे कुलमान घिसिङज्यूसँग आफ्ना कुराहरू राखे। बाँसका पोल कमजोर र असुरक्षित हुने भएकाले यसले दुर्घटनाको जोखिम बढाउँछ र ग्रामीण बासिन्दाको जीवन खतरामा पर्न सक्छ। उहाँले तुरुन्तै सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गरेर सबै क्षेत्रलाई बाँसका पोल मुक्त बनाउन निर्देशन दिनुभयो। उहाँले ‘एक घरमात्र भए पनि बाँसको पोलमा निर्भर हुनु हुँदैन’ भन्ने दृढता व्यक्त गर्नुभयो। जनताको सेवा गर्न उहाँको यस्तो प्रतिबद्धता अत्यन्तै प्रशंसनीय छ। हामीले उठाएको यो मुद्दालाई गम्भीर रूपमा लिएर उहाँले देखाउनुभएको तदारुकता र समाधान खोज्ने पहलको लागि धन्यवाद दिन चाहन्छु । हामीलाई दुख लाग्छ कि यसरी देशको लागि इमानदारीपूर्वक काम गर्ने व्यक्तिलाई हटाउन खोज्ने प्रयास भइरहेको छ। तर, कुलमान घिसिङज्यू, हामी तपाईंको साथमा छौं। जनता तपाईंको मेहनत र इमानदारीको सधैं कदर गर्छ’।