काठमाडौं २८, मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शुक्रबारसम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समिक्षा हुँदैछ ।
यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को बिस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।संगठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई रहेको बताईन्छ ।
यसका साथै, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ । स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदबारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।