Logo

प्रभु साहको प्रश्न: आँफै असुरक्षित प्रधानमन्त्री ओलीले कसरी जनतालाई सुरक्षा दिन सक्छन् ?



काठमाडौं, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न नसक्ने बताएका छन् ।

आज वीरगञ्जमा आइटी आर्मीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको सरकारले शान्ति, सुरक्षा कायम गर्न नसक्ने ठोकुवा गरेका हुन् । उनले बाढी, पहिरोको विपत्तिमा परेर जनता मर्दासमेत प्रधानमन्त्री जनताको घरदैलोमा जान नसकेको र हालै आफ्नै जिल्ला झापामा भ्यू टावर उद्घाटन गर्दा जनतालाई लामवद्ध बनाएर शरिर खानतलासीजस्तै चेकजाँच गर्नुले प्रधानमन्त्री ओलीले आँफै असुरक्षित महशुस गरेको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेको सरकारबाट देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुन सक्दैन् । स्वयम सरकारको नेतृत्वमा बसेका केपी ओलीले असुरक्षित महसुस गरेको देखिन्छ । नत्र भने भने जनता बाढि, पहिरोमा परेर मरिरहँदा प्रधानमन्त्री जानुपर्दैन थियो, उहाँ अमेरिकामा शयर गरेर बस्नुभयो । नेपाल फर्किनेबित्तिकै तुच्छ बोल्नुभयो । अहिले झापामा भ्यू टावर, म त यो टावरलाई सेतो हात्ति भन्छु, त्यो उद्घाटन गर्न जानुभयो, त्यो टावर पनि नक्शा पास गरेको छैन अरे, उद्घाटन गर्नपनि कत्ति हतार हौ रु धरहरामात्रै कति चोटि उद्घाटन गर्नुभयो, सबैलाई थाहै छ । झापाको भ्यू टावर उद्घाटन गर्दा जनतालाई लामवद्ध बनाएर चेकजाँच गरेको भिडिओ बाहिरिएको छ । कस्तो विडम्बना । जनतासँगै असुरक्षित हो र ? हो भने किन सत्तामा बस्नु ?’ ।

उनले अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएर कांग्रेर र एमालेले लोकतन्त्रको नै भद्दा मजाक बनाएको आरोप लगाए । साहले आजपाले दलतन्त्रको अन्त्यको लागि गत वर्ष नै तेस्रो आन्दोलनको उद्घोष गरेको स्मरण गर्दै अब निर्णायक कदम चाल्ने बेला आएको बताए । उनले अहिलेको व्यवस्थाबाट मुलुक पार नलाग्ने ठोकुवा गरे । बेथिति, भ्रष्टाचार र कुशासन मौलाएर दलतन्त्रलाई मलजल गर्नुबाहेक यो व्यवस्थाले केही नगरेको भन्दै अब आफूहरुको नेतृत्वमा देशलाई निकास दिलाएरै छाड्ने उनको घोषणा छ ।



प्रतिक्रिया दिनुहोस्