काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित हुने निश्चित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् । यद्यपि यसको औपचारिक घोषणा दिउँसोमात्र हुने धएको छ ।
उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल लगायत निर्वाचित हुने निश्चित भएको छ । शर्मा सत्तारुढ नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको संयुक्त् प्यानलबाट उम्मेदवार थिईन् भने पराजित भएका विष्ट प्रेस युनियनकै बागी हुन । उनलाई प्रेस सेन्टरसहित ५ संगठनको समर्थन थियो ।
महासंघ हाँक्न लागेकी शर्मा ०७७ सालमा भएको निर्वाचनमा पनि उम्मेदवार थिईन् । त्यतिबेला प्रेस चौतारीबाट एकल प्रतिस्पर्धामा उत्रिएकी उनी विपुल पोखरेलँग पराजित भएकी थिईन् । पराजित भएको करिब साढे ३ वर्षपछि उनले शानदार कमब्यक गर्दै इतिहासमै महासंघको पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छन् ।