Logo

प्रधानमन्त्री ओली आफैंले सरकारको आयु ‘काउन्ट डाउन’ गरिरहनु भएको छः माओवादी नेता शर्मा



काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले सरकारको आयु काउन्ट डाउन गरिरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत भएको सरकारको नेतृत्व गरेर पनि मनोवैज्ञानिक रुपमा कमजोर देखिएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीमा सरकार आज ढल्छ कि भोलि ढल्छ भन्ने आशंका रहेको बताए । त्यसकैको परिणाम स्वरुप प्रधानमन्त्री ओलीले ‘म यति महिनापछि सरकार तपाईलाई हस्तान्तरण गर्छु’ भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनिरहेको उनले बताए ।

‘अहिले जनताले अपेक्षा गरेको के हो त ? यो गठबन्धनबाट भन्दाखेरी– यो स्थायित्व कायम गर्न भनिएको छ नि । स्थायित्व कायम गर्न भनेको मनोविज्ञानमा पनि हो नि । सरकार आज ढल्छ कि भोलि ढल्छ कि काउन्ट डाउन गर्ने कुरा पनि हो त ? यति दिनमा तपाईँलाई मैले बुझाउँछु क्या बुझाउँछु, आशंका नगर्नुस् भनेर प्रत्येक दिन भाषणमा बोल्नुपर्छ र ? स्थायित्व भनेको यही हो ?’ प्रश्न गर्दै उनले भने ।

नेता शर्माले वर्तमान सरकार दुई तिहाइको भएपनि सामान्य निरन्तरतामा मात्रै अगाडि बढेको बताए । दुई ठूला दलहरुको समझदारीमा बनेको सरकार निर्माण हुँदाको बेलाबाट आशंकाबाट घेरिएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार हुँदा पनि दुई तिहाइ मत प्राप्त गरेको र अहिले दुई तिहाइको मत प्राप्त गर्दा पनि केही गर्न नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्