काठमाडौं । नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई अध्यक्षका प्रत्याशी रमेश विष्टले बधाईं दिएका छन् । अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका विष्टले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘प्रिय साथी निर्मलाजी, नेपाल पत्रकार महासंघको पहिलो महिला अध्यक्ष निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ! तपाईसंगै निर्वाचित हुने सबै साथीहरुलाई बधाई ! अब प्रतिस्पर्धा सक्कियो । प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा, श्रम अधिकार प्राप्ती र नागरिक अधिकारको पक्षमा सतिसाल भएर खडा हुने चुनौति तपाई सामु छ’ विष्टले भनेका छन् ।
विष्टले राम्रो कामको सदैव समर्थन र सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ‘सत्ता र शक्तिको दवाव र प्रभावको खतरा छर्लङ्ग छ । यी विषयमा निगरानी र खबरदारी जारी रहन्छ । राम्रा कामको लागी साथ सहयोग र सर्मथन रहनेछ । फेरि एक पटक बधाई !’ उनले भनेका छन् ।
गत शुक्रबार भएको निर्वाचनमा विष्टलाई भारी मतले हराउँदै शर्मा पत्रकार महासंको पहिलो महिला अध्यक्ष बनेकी थिईन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो ।
शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ हजार मतमात्र पाए । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए ।