काठमाडौं, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकास्मिक बैठकले पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्व जनसंख्या तथा वातावरण मन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंहको गत राति निधन भएको थियो । स्वर्गीय सिंहकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने बताएको छ ।
‘नेता प्रेमलाल (पीएल) सिंहको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’– बैठकपछि जारी शोक वक्तव्यमा भनिएको छ ।
स्वर्गीय सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै कांग्रेसले आजदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, भोलि (मंगलबार) केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।