Logo

दाहाल-गुरुङको सर्कुलरः पार्टी छोडेकाहरु पुनः माओवादीमा प्रवेश गर्दा पुरानै जिम्मेवारी सुरक्षित



काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) ले पुरानो घर फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिने भएको छ । गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णयले पुरानै पार्टीमा फर्किनेहरुलाई लचिलो नीति अख्तियार गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीहरुलाई संयुक्त सर्कुलर जारी गरिसकिएको छ ।

अध्यक्ष प्रचण्ड माओवादी घटकसहित अन्य वाम शक्तिहरुलाई एकीकृत गर्ने पक्षमा छन् । सोही नीतिअनुरुप पार्टी छाडेका नेताहरुलाई पुनः फर्किनका लागि लचिलो नीति अख्तियार गरिएको बताइएको छ ।

एकीकरण, समायोजन गर्दा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको गुनासो आएको सन्दर्भलाई सम्बोधन गर्दै माओवादीले पहिले जुन स्तरमा कार्यरत रहेको सोही स्तरमा समायोजन गर्ने नीति अख्तियार गरेको छ ।

‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र धुर्वीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुर्वीकरणमा जोड दिने । विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’– सर्कुलरमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्