काठमाडौं, २ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र जिल्ला अदालतका न्यायाधीशबीच इजलासमा सवाल–जवाफ चलेको छ ।
लामिछानेलाई हिरासतमा राख्न अदालतले पछिल्लो पटक दिएको अनुमतिको समय सकिएपछि आज कास्की जिल्ला अदालतमा उनलाई पेश गरिएको थियो ।
म्याद थप बहसका क्रममा न्यायाधीश हिमाल बेलबासेले ‘तपाईँहरुलाई केही भन्नु छ’ भनी प्रतिवादीहरुलाई सोधेका थिए । न्यायाधीश बेलबासेले सोधेसँगै लामिछानेलाई आफूलाई लामो समय हिरासतमा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । आफूलाई हिरासत बाहिर नै राखिँदा पनि कुन प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्ने आजसम्म थाहा पाउन नसकेको रविले जिज्ञासा राखे ।
लामिछानेको जिज्ञासामा न्यायाधीश बेलबासेले त्यो कुरा पछि थाहा हुने र यो अनुभव पछि आफैंलाई काम लाग्ने जवाफ दिए ।
जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।