काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकलेले आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भीड जम्मा गर्ने प्रयास भइरहेको बताएका छन् । आज (मंगलबार) गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले आपराधिक घटनालाई प्रभावित पार्न गरिने त्यस्ता गतिविधिलाई रोक्न आवश्यक रहेको बताए ।
सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलगायतका मुद्दामा रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरुले गरेको आन्दोलन र प्रदर्शनतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले भने, ‘मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन । आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन् तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।’
गृहमन्त्री लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने धारणा राखे । उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकारको एजेण्डा नै संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन रहेको सुनाए । ‘वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन । अबको एजेण्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरूरी छ,’– उनले भने । File Photo/RN