काठमाडौं, २ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनको विषय अध्ययन गर्न कार्यदल बनाएको छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीका उपाध्यक्षसमेत रहेका प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलमा अन्य छ सदस्यसमेत रहेका छन् ।
‘आज संविधान संशोधन सबैभन्दा बढी चर्चा भइरहेको छ । सरकारमा बसेका दलहरुले संविधान संशोधनको कुरा गरिरहेका छन् । के प्रताव ल्याउँछन् थाहा छैन । तर, नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनसम्बन्धी आजको आवश्यकता, उपादेयता, संशोधन गर्ने विभिन्न पक्षका बारेमा अध्ययन गर्नका लागि सुझाव कार्यदल गठन गरेको छ । त्यो कार्यदलमा प्रकाश ज्वालाले संयोजन गर्नु हुनेछ । अरु छ जना सदस्यहरु त्यसमा हुनुभएको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने ।
सो कार्यदलको सदस्यहरुमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् । File Photo/RN