काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले पार्टीलाई जनतासँग जोड्न जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्दै एकीकृत मसाजवादीले जनताको दैनिक समस्या, जनजिविकाको प्रश्न, सुशासनको प्रश्न, भ्रष्टाचारको विरुद्धमा जनताको चेतना वृद्धि गर्न र रोजगारी वृद्धि गर्न पार्टीलाई जनतासँग जोड्ने कार्यक्रमअन्तर्गत जनसंघर्ष चलाउने निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी गराए ।
उपाध्यक्ष एवं प्रवक्ता खतिवडाले आन्दोलनको माध्यमबाट पार्टीलाई निर्माण, विस्तार, सुदृढीकरण गर्न सकिने निश्कर्षसहित पार्टीले केही महिना जनसंघर्ष सञ्चालन गर्ने, जनताका आवाज उठाएर आन्दोलन गर्ने, स्थानीय तहदेखि केन्द्रीय तहसम्म हाम्रा आवाजहरु बुलन्द गर्ने निर्णय गरेको बताए । जनसंघर्षका कार्यक्रम केही दिनभित्र सार्वजनिक गरिने उनले बताए ।
त्यस्तै, आगामी निर्वाचनहरुमा आफ्नो पार्टीको तर्फबाट एकल उम्मेदवारी दिनको निम्ति सम्पूर्ण प्रयासका साथ जनतामा जाने बैठकको निर्णय रहेको छ । कलम चुनाव चिन्हका उम्मेदवारहरु देशका प्रत्येक भागमा उठाउने गरी तयारी गर्न आफूहरु तयार रहेको र सोहीअनुसार निर्णय भएको उनले सुनाए ।
त्यस्तै, एकीकृत समाजवादीले अहिले कुनै दलसँग एकता नगर्ने निर्णय गरेको छ । ‘हाम्रो पार्टीले आजको अवस्थामा विभिन्न कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने सम्भावना नरहेको निश्कर्ष निकाल्दै वामपन्थीहरुसँग सहकार्यको आधारमा विभिन्न एजेण्डाहरुमा काम गर्न सकिने, तर आज पार्टी एकताको सम्भावना नरहेको हुँदा त्यतातिर पार्टीले ध्यान केन्द्रीत नगरेको, पार्टी सुदृढीकरणका लागिमात्रै आफ्नो योजना बनाउने निर्णय गरेको छ,’– बैठकको निर्णय सुनाउँदै खतिवडाले भने । File Photo/RN