काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिनेन्द्र रिजालले कांग्रेस–एमाले गठबन्धन सरकार होस् पुर्याउनुपर्ने अवस्थामा पुगेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार बनेको ४ महिना पुग्दा पनि जनताको समस्या जस्ताको तस्तै रहेको भन्दै उनले निराशा चिर्ने काममा विशेष होस् पुर्याउनुपर्ने बताएका हुन् । ‘हामी अहिले होस पुर्याउनुपर्ने अवस्था बन्दै गएको छ,’– उनले भने ।
नेता रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली सरकार बन्दैगर्दा भएको सहमतिबाट बाहिर नएको दाबी गरे । तर, कांग्रेस–एमाले गठबन्धनले जनतामा रहेको निराशा चिरेर आशाको सञ्चार गर्न नसकेको खण्डमा आफू यो सरकार ढल्दैढल्दैन भनेर ग्यारेन्टी गर्न नसक्न उनले बताए । ‘नेताहरुको बीचमा भएको सहमति भन्दा बाहिर जानुपर्ने कुरा दुवै नेताको मनमा अंकुर भएको म देख्दिनँ । तर, ४ महिना बित्यो, कांग्रेस–एमाले भएर पनि तपाईँहरुले मान्छेलाई जे आशा भर्छु भनेको थियो । त्यस विषयमा सचेत हुनुपर्छ,’– उनले भने ।