काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन गर्न गठित आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको छ । मंगलबार आयोगले ओलीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको हो ।
सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो। बिरामी भएको कारण त्रिताल भने प्रतिवेदन बुझाउने कार्यक्रममा सहभागी थिएनन् । सहकुलपतिसमेत रहेकी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायत ओलीलाई प्रतिवेदन बुझाउन पुगेका थिए । प्रतिवेदन बुझ्दै विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् ।
प्रतिवेदन बुझेलगत्तै ओलीले त्रिताल आयोगले ललिता निवासको छानबिन गरेको प्रसंग सम्झिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फ २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको र त्यसमा आफूहरु सफल भएको उनको भनाइ छ ।
‘२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ ओलीले भनेका छन् ।
त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता समेत जनाएका छन्। ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ’ उनले भनेका छन् ।
सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।