Logo

अपराध लुकाउनकै लागि रवि लामिछानेले दल खोलेको एमाले नेता महेश बर्तौलाको आशंका



काठमाडौं, ३ पुस । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको पर्याप्त प्रमाणहरु रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता बर्तौलाले अहिले रवि लामिछानेमाथि मात्रै सहकारी ठगीमा छानविन भएको जस्तोगरी प्रचार गरिएको बताए । उनले सूर्यदर्शन सहकारीमा मात्रै ५१ जनालाई प्रतिवादी बनाईएको र देशमा अहिले २९ हजार नागरिक कुनै न कुनै अभियोगमा थुनामा रहेको बताए । आरोप लागेपछि लामिछानेमाथि अनुसन्धान हुन हुँदैन भन्ने शोभनीय नहुने उनको भनाइ छ ।

‘हामीले बाहिरबाट देख्दा तथ्य प्रमाणहरु छन् । अब यसको परीक्षण भोलि अदालतबाट होला । उहाँविरुद्धको प्रमाणको भार पुर्याउन दायित्व उहाँ स्वयंको हो । उहाँले पुर्याउनुहोला, यहाँमा हाम्रो कुनै आपत्ति छैन । अनुसन्धानमा उहाँमात्रै होईन । उहाँसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । यो देशका २९ हजार नागरिक जेलमा छन्,’– उनले भने ।

साथै, उनले लामिछाने विभिन्न अपराधमा संलग्न भएर त्यसबाट जोगिनकै लागि राजनीतिमा आएको हुनसक्ने आशंका व्यक्त गरे । उनले यसरी राजनीतिमा आउनु लोकतन्त्रका लागि पनि घातक हुने उनको भनाइ छ ।

‘राजनीतिमा आउनुभन्दा पहिला सांसद हुनुभन्दा पहिला यत्रा विभिन्न खालको आर्थिक अपचलनसँग जोडिएको विषयमा उहाँको संलग्नता आफैंमा पनि यो गम्भीर विषय हो । यस्ता चिजलाई प्रोटेक्टसन गर्न उहाँ राजनीतिक पार्टी खोलेर आउनु भएको हो भने लोकतन्त्रमा यो भन्दा डरलाग्दो र भयानक विषय के हुनसक्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, विधिको शासन र लोकतन्त्रमा हिरासतबाट पार्टी सञ्चालन हुन नसक्ने उनले बताए । रास्वपाको केन्द्रीय समितिले संस्थागत निर्णय गर्दै आफ्ना सभापति निर्दोष रहेको भन्दै रिहाइको माग गर्नुपनि हाँस्यास्पद रहेको उनको भनाइ छ । रास्वपाले आफ्नो सभापतिको पक्राउका विरुद्धमा गरिरहेका सबै गतिविधि गलत रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्