काठमाडौं, ३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरु गरेको वाम एकता अभियान निश्कर्षविहीन हुने भएको छ । प्रचण्डले जोडबल गरेका दुई दलहरु नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गर्न नसकिने निश्कर्ष निकालिसकेको छ ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले कुनै पनि दलसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ ।
पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष खतिवडा, सम्मानित नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेण्ड छोडेका छन् ।
पार्टी एकताका लागि माओवादी प्रचण्ड र माधव नेपालबीच पटक–पटक छलफल भएको थियो । प्रचण्डले एकीकृत समाजवादीको १०ओैं महाधिवेशनमै पार्टी एकताको प्रक्रियामा रहेकोसमेत जानकारी गराएका थिए ।
त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि माओवादीसँग एकताको सम्भावना टरेको निश्कर्ष निकालेको छ । नेकपाको केन्द्रीय समिति बैठकले अब माओवादीसँग एकताको पहल नगर्ने निणर्य गरेको छ । नेकपाको सो बैठकले प्रचण्ड नै एकताविरोधी बनेको निश्कर्ष निकालेको छ ।
यसअघि प्रचण्डले एकताका लागि विप्लवसँग पटक–पटक छलफल गरेका थिए । उनले एकताअघि सहयात्राको लागि समाजवादी मोर्चासमेत बनाएका थिए । अहिले उक्त समाजवादी मोर्चा पनि चर्चामा छैन । एकताको मोर्चामा रहेको दुई प्रमुख घटकहरु एकताको विपक्षमा उभिइसहेका छन् ।