Logo

प्रचण्ड र रविलाई कमिलाको संज्ञा दिँदै ओलीले भने, ‘समय सिद्धियो भने पखेटा पलाउँछ’



काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शाही राजाहरुको जस्तै गल्ती दोहोर्याउन खोजेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको १३औं स्थापना दिवसको सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाउने गरिएको र सो प्रवृत्ति प्रचण्ड–रवि सरकारमा पनि देखिएको बताए । उनले तत्कालीन समयमा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि राजाले थुनामा राखेको प्रसंग उल्लेख गर्दे भने, ‘पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाइन्थ्यो । यो कुरा अस्ती प्रचण्ड–रविवाला सरकार हुँदा पनि त्यस्तै उनीहरुले दोहोर्याउन खोजे ।’

साथै, उनले प्रचण्ड–लामिछानेलाई कमिलाको संज्ञा दिए । उनले कमिलाका समय सिद्धिएर पखेटा पलाएको र आकाशमा उड्न थालेपछि कांग्रेस–एमाले मिलेको बताए । उनले भने, ‘कमिलाको समय सिद्धियो भने पखेटा पलाउँछ । अनि प्वालबाट निस्किएर फ्टफ्याट उड्छ, माथि चरो हुन्छ । हुलै चाराहरु आएर टप्पटप्प पार्छन् । यिनीहरुले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले । अस्थिरता, अन्यौता, भ्रष्टाचारको कुनै सीमा रहेन । एमालेजस्तो पार्टी, कांग्रेसजस्तो पार्टी हुँदाहुँदै कसको के नाँच यो ? जनताले भन्न थाले । त्यसपछि हामीले यो साह्रै भएर सच्याउनुपर्यो भनेर अहिलेको संयुक्त सरकार बनाायौं ।’

साथै, प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाउन परेको पनि ओलीले दाबी गरे । वर्तमान सरकारलाई माओवादी र रास्वपाले सरापीरहेको उनले बताए । तर, माओवादी र रास्वपाले सरापेको भरमा सरकार नढल्ने उनको दाबी छ । ‘सरापेको सराप्यै छन् । सरापले मर्ने होईन । झिँगाले त सरापिरहन्छ । मेरे हुन्थ्यो भनेर, यो देख्न पाउँदैन डिँगाले भन्छ, दशैं देख्न पाउँदैन, तिहार देख्न पाउँदैन भन्दै जान्छ । तर, त्यस्तो हुने होईन । अहिले दुईवटा पार्टीले संकल्प गरेका छन्, यो देशलाई अब ठीक बाटोमा अगाडि बढाएर छोड्ने, स्थिरता, स्थायित्व ल्याएर छोड्ने, कायम गरेर छोड्ने, सुशासन र विकास फेरि फर्काएर यस देशलाई विकासको बाटोमा तीब्र ढंगले अगाडि बढाउने, समृद्ध नेपाल, सुखी नेपालीको जनताको आकांक्षा पुरा गरेर छाड्ने,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्