Logo

रवि लामिछाने हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको खुलासा, छानबिन गर्दै प्रहरी



काठमाडौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको फोटो रास्वपाकै कार्यकर्ताले खिचेको खुलासा भएको छ ।

हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो । भने रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए । बिहान स्टाटस हालेका बोहराले केही समयमा फेरि लाइभ बस्दै सरकारमाथि प्रश्नको वर्षा गरेका थिए । तर, उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको पुष्टि भएको छ ।

सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाएका छन् ।

कास्की प्रहरी स्रोतले दिएको जानकारी अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्नै पर्ने ढिपी गरेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । सो बेला प्रहरीको आँखा छलेर भुसालले तस्बिर खिचेको हुनसक्ने स्रोतले जनाएको छ । यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस्