काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक डा.निकोलस भुसालले प्रहरीकै अगाडि हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचेको दाबी गरेका छन् । हिरासतमा रहेका लामिछानेको भनिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
लामिछानेको उक्त फोटो आफूले बाहिर ल्याएको निकोलसको दाबी छ । उनले प्रहरीको सीसीटिभीबाट प्रहरीकै अगाडि सो फोटो बाहिर ल्याएको बताए । ‘मैले सीसी क्यामेरामा फोटो खिचेको हो । यो फोटो अघिल्लो शनिबार ४ बजे खिचेको हो,’– सामाजिक सञ्जालमा लाइभ आएका निकोलसले भने ।
हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा प्रहरीले मोबाइल, क्यामेरालगातका डिजिटल डिभाइस लान दिँदैन । तर, उनले सुरक्षा संयन्त्रलाई चुनौति दिँदै हिरासतमा फोटो बाहिर ल्याएको दाबी गरेका छन् । आफूले फोटो खिचेको प्रहरीहरुलाई त्यही बेला जानकारी रहेको पनि उनले दाबी गरेका छन् ।
आफूले लामिछानेको अवस्था बाहिर ल्याउन र साथ दिनका लागि सो फोटो बाहिर ल्याएको पनि दाबी गरेका छन् ।