काठमाडौं, ४ पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सरकारले गितेन्द्रबाबु राईलाई नेपाल फिर्ता नल्याउने दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ठूला–ठूला नेताहरु सहकारी ठगीमा संलग्न रहेको विषयको पोल खुल्ने डरले सरकारले जिबी राईलाई नेपालमा नल्याउने बताएका हुन् । उनले जिबी राई नेपाल ल्याउनुभन्दा पहिला नै सरकारले खत्तम पारिदिनसक्ने आशंका व्यक्त गरे ।
‘जिबी राईलाई कुनै हालतमा ल्याउँदैनन् यिनीहरुले । जिबी राई आउनेबित्तिकै क–कसको पोल खोलिन्छ ? थाहा छैन । जिबी राई यिनीहरुले ज्यान गए ल्याउँदैनन् । यिनीहरुले जिबी राईलाई ल्याएभने यहाँ पत्तासफा हुन्छ । या त उनीहरुले ल्याउनु अगाडि खत्तम पार्दिन्छन् । जिबी राई ल्याउनेबित्तिकै माथिल्लो तहको पोल खुल्छ । यिनीहरुले ज्यान गए ल्याउँदैनन्,’– उनले भने ।
त्यस्तै, फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको बताए । उनले सरकार ढल्ने संकेत नै नरहेपनि ओली दिनरात बचाउमा लागिरहेको बताए । प्रधानमन्त्री ओलीकै कारण मुलुक ज्यादै अस्थिरतातिर गएको उनको आरोप छ ।
‘जुनबेला पनि सरकार ढल्ने कुरा र सरकार रहने कुराले गर्दाखेरी मुलुकमा ज्यादै अस्थिरता बढ्यो । प्रधानमन्त्री नै काम न काजसँग सरकार ढल्ने आशंका देखाउनुहुन्छ । यो सरकार ढल्दैन । ओलीजी किन आफैं आशंका गर्नुहुन्छ ? आशंकामात्रै गर्नुहुन्छ, त्यसको बचाउ गर्दै हिड्नुभएको छ ओलीजी । किन कामतिर लाग्दैनन् ?’ उनले भने ।