- माओवादी नेताको प्रस्तावः प्रचण्ड, ओली, देउवासहित आजसम्म मन्त्री बनेकाहरु र आसेपासेको सम्पत्ति छानविन गरौं
काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरण छानविन सुरु भएपछि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता किरातीले सहकारी ठगी प्रकरणमा सबैभन्दा धेरै एमाले नेताहरुको संलग्नता रहेको आरोप लगाए । उनले सहकारी ठगी प्रकरण राम्रोसँग छानविन गर्दा एमाले पार्टी नै सकिने दाबी गरे । उनले भने, ‘आजको सरकारको नेतृत्व गरेको पार्टी सहकारी राम्रोसँग छानविन गर्ने हो भने यो पार्टी नै सिद्धिन्छ । सरकारको नेतृत्व गरेको पार्टी मुख्यरुपले सिद्धिन्छ ।’
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि विभिन्न प्रकारका आरोप लगाएको तर्फलक्षित गर्दै उनले छानविन गरेर कारबाही गर्न चुनौति दिए । उनले सहकारी प्रकरण र आजसम्म भएका प्रधानमन्त्री, मन्त्री र तिनीहरुको आसेपासेको सम्पत्ति छानविनको लागि चुनौति दिए । आफू र आफ्नो दल छानविनका लागि तयार रहेको बताए । उनले प्रचण्डले आफू छानविनको लागि तयार रहेको बताइसकेको पनि उनले सुनाए । नेता किरातीले माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अहिलेसम्म मन्त्री बनेका र तिनीहरुको आसेपासेको सम्पत्ति छानविन गर्नसमेत माग गरे ।
‘छानविन गरौं न त ? सरकारको प्रमुख भएपछि त छानविन गर्नुपर्यो, आयोग बनाउनुपर्यो नि त । आफू सरकारको नेतृत्वमा बस्ने, देशको नेतृत्व गर्ने, फलाना भ्रष्टाचारी छ भन्दै हिँड्ने ? छानविन गर्न पर्दैन, जेल ठोक्न पर्दैन ? प्रचण्डले त भनेको छ त– छानविन गर्दै जाँदा प्रचण्ड भन्ने नाम भेटियो भने त्यसलाई पनि ठोकिदेउ भनेको होईन ? गरे भयो नि त,’– नेता किरातीले भने ।