काठमाडौं, ५ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जनयुद्ध शब्दलाई प्रयोग नगर्न सर्वोच्च अदालतले दिएको आदेश प्राप्त उपलब्धि र परिवर्तनको उपेक्षाको पक्षमा रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, मौलिक हक अधिकारलगायतका परिवर्तन जनयुद्धको जगमा भएको बताए ।
‘त्यो सशस्त्र युद्ध जनताले गरेको हो । जनताले गरेको सशस्त्र युद्ध भएको हुनाले यो मुलुकमा परिवर्तन भएको छ– गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, मौलिक हक अधिकारहरु लगायतका परिवर्तन भएका छन्, ती परिवर्तनहरुको जग भनेको जनयुद्धसँग जोडिएको छ । त्यसकारणले जनयुद्ध शब्द प्रयोग गर्न पाइँदैन भन्नुको तात्पर्य अहिलेको प्राप्त उपलब्धी, मुलुकमा जे परिवर्तन भएको छ, त्यो प्रतिको उपेक्षा ह्ुन जानसक्छ ,’– उनले भने ।
विधिको हिसाबले अदालतले गरेको आदेशको सम्मान गर्नुपर्ने भएपनि अन्तरवस्तुको हिसाबले यो समीक्षाको विषय हुन आउने उनको भनाइ छ । उक्त फैसला संविधानको स्पिरिटअनुसार मेल खाएको वा नखाएको समयक्रममा समीक्षा हुँदै जाने उनले बताए ।
संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरित रहेको भन्दै सर्वोच्चले सो शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले आव २०८१/८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न भनेको थियो । सर्वोच्चको उक्त फैसलालाई लिएर अनेक टिकाटिप्पणी सुरु भएको छ । File Photo/RN