Logo

नेपाली यू-१९ टिमले दियो हङकङ्गलाई २६६ रनको लक्ष्य, अभिषेक, सन्तोष र सूर्यांशुले हिर्काए अर्धशतक



काठमाडौं । नेपाल भ्रमणमा रहेको हङकङ्गको यू-१९ टिमलाई नेपाली यू-१९ टिमले २६६ रनको लक्ष्य पेश गरेको छ । यसअघि नै दुई खेल जितेर सिरिज कब्जा गरेको नेपाली टिमले तेस्रो तथा अन्तिम खेलमा पनि विशाल स्कोर खडा गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टिम ४९।१ ओभरमा २६५ रनमा अलआउट भयो । नेपालका लागि तीन जनाले अर्धशतकीय पारी खेले । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोड्दा सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन जोडे । ९६ बलको सामाना गरेका सूर्यांशुले ८ चौका र १ छक्का हिर्काउँदा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का हिर्काए । ४५ बलमा सन्तोषले पनि ५ चौका र १ छक्का हिर्काएका थिए ।

नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पायो । बलिङमा हङकङ्गका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।

लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्