Logo

कांग्रेसीको चिन्ता महाधिवेशन र चुनावमा मात्रै छः गगन थापा



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र ०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसीहरु पार्टीको धर्म छाडेर महाधिवेशन र निर्वाचनमा मात्रै केन्द्रीत हुन थालेको बताएका हुन् ।

‘हाम्रो पार्टी नेपाली कांग्रेसको धर्म के हो ? नेपाली कांग्रेस पार्टी छ, किन छ ? हामी के को लागि छौं ? हामी त कस्तो भइसक्यौ भने आजभोलि, हामी त जम्मा २ वटा कुरा सोच्छौं, सबैले के सोचिरहेका छौं भने अहिले–अधिवेशन कहिले हुन्छ ? चुनाव हारिन्छ कि जितिन्छ ? जम्मा दुईवटा छ । ०८२, ०८४, कांग्रेस भनेकै ०८२, ०८४ ।’

समाजलाई अध्यारोबाट उज्यालोतर्फ लैजानका लागि कांग्रेस सधैं लागिरहनुपर्ने उनले बताए । पछिल्लो समयमा कांग्रेसले आफ्नो मूल धर्म बिर्सिएर सीमित दायरामा पुगेको उनले बताए । कांग्रेस आफने बाटोमा हिँड्नुको साटो कहिलेकाहीँ बरालिन पनि थालेको महामन्त्री थापाले बताए ।

साथै, उनले फरक प्रसंगमा चितवनका कांग्रेस समर्थकहरु पञ्चायत, कम्युनिष्टहरुदेखि अहिलेसम्म दोहोरो मारमा परिरहेको पनि उनले बताए । महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फलक्षित गर्दै चितवनमा अहिले अनौठो पात्र र प्रवृत्ति देखिइरहेको बताए ।

‘चितवन यस्तो ठाउँ हो, जहाँ नेपाली कांग्रेसमा आवद्ध भएका कार्यकर्ताहरुले पञ्चायतको दवाबमात्र होईन, अहिले चितवनमा जुनखालका राजनीतिक घटनाहरु छन्, त्यहाँको पात्र, प्रवृत्ति अनौठो छ । त्यस्तो अनौठो पात्र, प्रवृत्ति पञ्चायत कालमा पनि चितवनमा कांग्रेससँग आवद्ध भएका कार्यकर्ताहरु, प्रजातन्त्रिक विचार राख्नेहरुले त्यो बेलामा पनि दोहोरो मार खेप्यो,’– उनले भने । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्