काठमाडौं । आगामी महाधिवेशनमा सभापति बन्ने उदेश्यका साथ जिल्ला दौडाहमा लागेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कैलालीमा भव्य स्वागत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका जिल्ला भ्रमणका लागि पुगेका कोइरालालाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको हो । कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दिने तयारीमा रहेका कोइरालालाई भावि सभापति भन्दै १५ किलोको माला पहिर्याएर स्वागत गरिउको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला- जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ- १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ लगायतका नारा लगाएका थिए ।
आगामी महाधिवेशनमा देउवाको विपक्षबाट सभापति उठ्न लागेका कोइरालालाई देउवाकै गृह जिल्लामा भव्य स्वागत गरिएको हो । प्रदेशका ९ वटै जिल्लाका सभापति भेट्ने उदेश्यका साथ कैलाली उक्लिएका शेखर केही दिन सुदूरपश्चिममा नै रहनेछन् ।