काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश दिएको छ । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो ।
गैरकानुनी रुपमा पक्राउ गरिएको र हिरासतमा राखिएको भनी परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए । सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे अनुसन्धान भइरहेको छ । सो अभियोगमा प्रसाईँलाई पक्राउ पर्नु पहिला नै प्रहरीले बोलाएर बयानसमेत लिएको थियो । सो समूहका नाइके हरिचन्द्र फुयाल अहिले पनि प्रहरी हिरासतमा छन् ।