काठमाडौं, ५ पुस । मेडिकल व्यसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले रिहाइको आदेश दिएसँगै उनी छुटेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए । सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे अनुसन्धान भइरहेको छ । सो अभियोगमा प्रसाईँलाई पक्राउ पर्नु पहिला नै प्रहरीले बोलाएर बयानसमेत लिएको थियो । सो समूहका नाइके हरिचन्द्र फुयाल अहिले पनि प्रहरी हिरासतमा छन् ।
रिहाइपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘तस्करहरुसँगको लडाइँ हो मेरो । यो जारी हुन्छ । यो छाल आउने बेला हो ।’