Logo

मिलान्थाको शानदार ब्याटिङमा नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।

जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका सैफ अलि जैव, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३-३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्