काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । जनकपुर बोल्ट्सलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी हस्तान्तरण गरेका छन् ।
शनिबार सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरलाई ट्रफी हस्तान्तरण गर्दा देउवा र प्रचण्डसँगै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए ।
जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका सैफ अलि जैव, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए ।
एनपीएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार उपहार पाएका छन् । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन् । यस्तै अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् ।
एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ । एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड र २ लाख रुपैयाँ जिते ।
२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले २ लाख पाए ।
१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदयमान खेलाडी बने । उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे ।
त्यस्तै सुदूरकै सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् । जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए ।
यस्तै प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।
उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।
तस्बिर सबै: मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल