काठमाडौं । शनिबार दिउँसो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमामा गत मंसिर १५ गतेदेखि जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त । उपाधिका लागि भिडिरहेका थिए चिरपरिचित टोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आएको सुदूरपश्चिम अनि सुदूरलाई पछ्याउँदै दोस्रो क्वालिफायरमार्फत उपाधि नजिक पुगेको जनकपुर । यी दुई टिमबीचको उपाधि भिडन्त आफैमा रोचक थियो ।
त्रिवि मैदानमा जारी एनपीएलमा समूहचरणका सातमध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहँदै फाइनल पुगेको जनकपुरबीचको उापधि भिडन्तमा सुदूरलाई पन्छाउँदै जनकपुरले उपाधि जित्यो । टस जितेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ गर्ने निर्णय लिँदै जनकपुरका कप्तानसमेत रहेका मार्की खेलाडी आशिफ शेखलाई बलिङको निम्तो दिए ।
पहिले ब्याटिङ गरेको सुदूरले पनि शानदार प्रदर्शन गर्दै १८४ रनको विशाल योगफल खडा गरेको थियो । ओपनरद्धय शैयव अलि जैब र विनोद भण्डारीले शतकीय साझेदारी गरेपछि सुदूरले जनकपुरसामू १८५ रनको चुनौती पेश गरेको थियो । जुन जनकपुरका लागि चुनौतीपूर्ण थियो । प्रतियोगिताका पछिल्ला केही खेलमा ब्याटिङ चल्न नसकेको जनकपुरका लागि सो लक्ष्य पूरा गर्न हम्मेहम्मे पर्ने देखिएको थियो । तर, खेल ठीक उल्टो भयो । सुदूरलाई पन्छाउँदै जनकपुरले उपाधिमा आफ्नो नाम लेख्यो ।
सुदूरले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा जनकपुरका ओपनरद्धय आशिफ शेख र लाहुरा मिलान्था आएका थिए । सुरुआतदेखि नै आक्रामक ब्याटिङ गरिरहेका मिलान्था र आशिफले पावरप्लेमै ७१ रन जोड्न सफल भए । पावरप्लेमा जोडेको ७१ रनसँगै जनकपुरले खेल आफ्नो पक्षमा ढल्काउन सफल भएको थियो ।
जनकपुरले खेल आफ्नो पक्षमा ढल्काउन लाग्दा बलिङमा आएका थिए । सदुदूरका कप्तानसमेत रहेका राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी । स्ट्राइकमा थिए विस्फोटक ब्याटिङ गरिरहेका श्रीलंकन मुलका अमेरिकन खेलाडी लाहिरु मिलन्था । ऐरीको अफ स्पीन बल मिलन्थाले रिड गर्नै सकेनन् र सहज क्याच उछाले । दीपेन्द्र आफ्नो बलमा आफैँ क्याच लिन दौडिए, बल उनको हातमा पनि आयो । तर, त्यसपछि जे भयो सुदूरपश्चिमको दुर्भाग्य र जनकपुरका लागि भाग्य बन्यो ।
दीपेन्द्रले जनकपुरको पारीको १२ औँ ओभरको पहिलो बलमा मिलन्थाको क्याच ड्रप गरे । त्यतिबेला मिलन्था ६५ रन बनाएर खेलिरहेका थिए । १८५ रनको लक्ष्य पछ्याएको उसले ११ ओभरमा ११६ रन मात्र बनाएको थियो । त्यो क्याच ड्रपपछि मिलन्थाले थप १७ रन बनाए र टिमलाई जितसम्म पुर्याएका थिए । दीपेन्द्रले छुटाएको क्याचपछि जोडेको १७ रनले नै मिलान्थालाई प्रतियोगीताकै सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा पूर्यायो ।
दीपेन्द्रले क्याच छुटाएर मिलान्थाले जीवनदान पाएलगत्तै हर्ष ठाकरले पनि जीवनदान पाए । ब्रान्डन माकमुलेनबाट । जनकपुर १३७-२ मा हुँदा हर्मित सिंहको बलिङमा लङ्गअनमा शट खेलेका थाकरको क्याच माकमुलेनले छाडेका थिए । उक्त बल उनको हातमा लागेर छक्काका लागि गएको थियो । माकमुलेन र दीपेन्द्रले क्याच छाुटाएसँगै सुदूरपश्चिमले उपाधि छुटायो ।
सुदूरपश्चिमको हारको अर्को कारण पावरप्लेमा बढी रन खर्चिनु पनि बनेको थियो । सुरुमा ब्याटिङ गर्दा सुदूरले पावरप्लेमा ४८ रन जोडेको थियो । जवाफमा जनकपुरले ७१ रन जोड्न सफल भयो । जुक कुरा सुदूरका मूख्य प्रशिक्षक जगत टमाटाले पनि स्वीकार गरेका छन् । म्याचपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै टमाटाले पावरप्लेमा बढी रन खर्चिएपछि सुदूरपश्चिम उपाधिबाट चुकेको बताए । ‘पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नु खराब पक्ष रह्यो’, उनले भनेका थिए, ‘प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बन्यो ।’