काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार मूलभूत एजेण्डामा प्रवेश गर्नै नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मूलभूत एजेण्डा संविधान संशोधन भएपनि त्यसतर्फ ध्यान नगएको बताएका हुन् ।
कांग्रेस–एमालेले चाहेरमात्रै संविधान संशोधन नहुने बताउँदै उनले अन्य दलसँग पनि छलफल गरिनुपर्ने बताए । ‘यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो । तर, संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन,’– नेता कोइरालाले भने ।
उनले मुलुकको राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको बताए । नेता कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको पनि बताए । उनले कुनै पनि हालतमा सरकार चल्नुपर्ने धारणा राखे ।