काठमाडौं, ७ मंसिर । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।
प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।