Logo

जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न जनमत पार्टीको माग



काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नेपाल प्रिमियर लिग विजेता टोली जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो । प्रतियोगीताभर नै जनकपुरविरुद्ध सामाजिक सञ्जाल लगायतमा नश्लीय र साम्प्रदायिक टिप्पणी गर्दै गालीको वर्षा भएको थियो । स्राम्पदायीक सद्भाव बिगार्नेगरि सामाजिक सञ्जालमा जनकपुरविरुद्ध गाली बर्षिएपछि मधेशी आयोगले समेत चासो राखेको छ । आइतबार मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको थियो ।

एनपीएलको फाइनल खेलका क्रममा कीर्तिपुर मैदानदेखि सामाजिक सञ्जालसम्म मधेशी समुदायलाई होच्याउने, आक्रमण गर्ने जस्ता कार्य भएको थियो । यसको चौतर्फी विरोध भएको छ । जनमत पार्टीले पनि आइतबार विज्ञप्ति नै जारी गरेर जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

‘फाईनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाई रहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’ जनमत पार्टीका प्रवक्ता डा। शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ’ ।



प्रतिक्रिया दिनुहोस्