काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक नेपाली क्रिकेटको सबैभन्दा ठूलो धनराशीको प्रतियोगीता नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भयो । गत मंसिर १५ गतेबाट सुरु भएको र ८ टिम सहभागी भएको एनपीएलमा शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलसँग समापन भएको हो । प्रतियोगीताभर ३२ खेल भए । ३० खेलसम्म शान्त देखिएको त्रिवि मैदान ३१औं खेलमा आइपुग्दा केही अशान्त बन्न पुग्यो ।
३१औं खेलमा भिडिरहेका थिए कर्णाली याक्स र जनकपुर बोल्ट्स । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको जनकपुर अनि एलिमिनेटरमा चितवन राईनोजलाई पन्छाउँदै दोस्रो क्वालिफायरमा पुगेको कर्णाली दुवैले जित निकाल्दै फाइनलको यात्रा तय गर्ने एउटै लक्ष्य । मैदानमा उत्रिएको कर्णालीलाई हराउँदै जनकपुरले सुदूरसँगको फाइनल भेट पक्का गर्यो । जनकपुरको जितसँगै त्रिवि मैदानमा कर्णालीका समर्थकले जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गरे । केही नारा लागे । केही समर्थकप्रति आपत्तिजनक व्यवहार भए । जुन शनिबारको फाइनलमा पनि देखियो ।
पुस ६ गते शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर खेलिरहेका छन् । जनकपुर बोल्टसले जितेसँगै उदण्ड र अराजक समूहले जनकपुर बोल्टस समर्थक लक्ष्य गर्दै नारा लगाए।
जनकपुरविरुद्ध पटक पटक अपमानजनक नारा लागेपछि र समर्थकमाथि साम्प्रदायिक व्यवहार भएपछि अहिले उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ । मधेशी आयोगले विज्ञप्तिनै निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एउटा उदण्ड र अराजक समुहद्वारा जनकपुर वोल्टस् प्रति देखाएका नश्लीय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनैपनि तवरले अग्राह्य रहेको ठम्याई आयोगले गरेको छ ।
‘विभिन्न प्रकारका संचार माध्यमबाट प्रष्टिएकाहरु माथि राज्यका जिम्मेवारीमा वसेका सुरक्षा निकायहरुले कुनैपनि कारवाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ । कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता( संस्कृति( प्रथा( परम्परा( सोच( व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ । संबिधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूत विरुद्ध कानुनी रूपमा दण्ड सजायको गरेको छ । तर, सो कानुनी व्यवस्थाको बावजूद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान नै रहेको देखिन्छ।अहिले एउटा सम्प्रदायमा देखिएका मधेशी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ’ मधेशी आयोगले भनेको छ ।
जनकपुरका खेलाडीहरुका अगाडीनै अभद्र र अपमानित हुने खालका नारा ( जुलुस लगाईएको आयोगले जनाएको छ । जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको आयोगको ठहर छ । आयोगले तत्कालै राज्यले ती उदण्डी र अभद्री आपराधीलाई तुरुन्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोगले अपील गरेको छ । सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ । साथै, संयमित हुन समेत आग्रह गरेको छ ।
एनपीएलमा भएको उक्तकार्यप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जनमत पार्टीले पनि आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जालमार्फ महामन्त्री थापाले आफ्नो धारणा सार्वजनिक गर्दै जनकपुरका समर्थकप्रति दुव्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
उनले लेखेका छन् ‘Janakpur Bolts का समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But’ ।
यता जनमत पार्टीले पनि विज्ञप्तिनै निकालेर सो कार्यको विरोध गरेको छ । ‘फाईनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाई रहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’ जनमत पार्टीका प्रवक्ता डा। शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ’ ।