काठमाडौं, ७ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीले गोर्खा मिडियामा आएको रमक र खर्चबारे जिबी राई र रवि लामिछाने जानकार र जिम्मेवार रहेको बयान दिएका छन् । उनले बयानका क्रममा रमक आएको बारेमा जिबी र खर्चबारेमा रविलाई थाहा रहेको र आफू त्यसमा संलग्न नरहेको बताएका छन् । उनले सूर्यदर्शनलगायत कुनै पनि सहकारी संस्थाबाट गोर्खा मिडियाका लागि ऋण लिने भन्ने विषयमा कोही कसैसँग छलफल, परामर्श केही नभएको बताएका छन् ।
्
‘हामीले यस प्रकारको गैरकानुनी तबरबाट रकम ल्याउनका लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्यूट गराउने जस्ता कार्य गरेका थिएनौं । बैंकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो । निजकै हस्ताक्षरबाट चेक काटिने अवस्था थियो,’– उनले बयानका क्रममा भनेका छन् ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा साढे ५ करोडभन्दा बढी रकम आएको भन्ने कुरा आफूलाई प्रहरीले पक्राउ गरेर ल्याएपछिमात्रै थाहा भएको उनले बयानका क्रममा उल्लेख गरेका छन् । गोर्खा मिडियाको बैंक खातामा रकम जुटाउने कार्य जिबी राई र खर्च गर्ने कार्य रवि लामिछानेले गरेको उनले बताएका छन् । छविलालले बयानका क्रममा आफूले गोर्खा मिडियामा कुनैपनि रमक लगानी नगरेको खुलाएका छन् । जिबीले गोर्खा मिडिया खोल्दा ५ करोड लगानी देखाइ आफूलाई साझेदार बनाएको छविको दाबी छ ।
पछि बैंकबाट ऋण लिनुपर्ने परिस्थिति सिर्जना हुँदा गोर्खा मिडियाको चुक्ता पुँजी १२ करोड बनाउनु परेको र सोही समयदेखि जिबीसँग आफ्नो मनमुटाव सुरु भएको छविले बयानको क्रममा ख्लाएको छन् । उनले आफ्नो श्रीमतीको नाममा रहेको घर धितो राखेर ऋण लिन जिबीले प्रस्ताव राखेको र सो प्रस्ताव आफूले नमान्दा तिक्तता सुरु भएको बताएका छन् ।