काठमाडौं, ८ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने आफैंमा गलत मान्छे भएपनि सरकारको पछिल्ला गतिविधि भने प्रतिशोधपूर्ण रहेको बताएका हुन् । ‘रवि लामिछाने आफैं लगत मान्छे हुन् । तर, यो प्रकरण चाहीँ प्रतिशोधपूर्ण छ,’– डा.केसीले भने ।
लामिछानेले संर्कीण स्वार्थका लागि नेपालको नागरिकता त्यागेको, नेपाल फर्किएपछि नागरिकता पुनर्पाप्तिको लागि समयमै प्रक्रिया चालु नगरेको, दोहोरो राहदानी प्रयोग गरेकोलगायतका प्रश्न उठाउँदै डा.केसीले उनी गलत नै रहेको बताए । लामिछानेलाई जस्तैगरी वर्तमान सरकारले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अनुसन्धानको दायरामा नलाएको उनले बताए ।
एकै प्रकारको कसुरमा उनीहरुलाई उन्मुक्ति दिएर लामिछानेलाई भने वर्तमान सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको उनको भनाइ छ । ‘ऋषिकेशको श्रीमती, धनराज गुरुङ र रवि लामिछानेलाई एउटै डालोमा हालेर कारबाही गरेको भएदेखि बोल्ने ठाउँ हुने थिएन,’– उनले भने ।
बालुवाटार प्रकरणका मुख्यका मुख्य नाइकेहरुलाई उन्मुक्ति दिएर मिनबहादुरलाई फसाइएको जस्तै सहकारी ठगी प्रकरणमा पनि सोही घटनाको पुनरावृत्ति भइरहेको उनले बताए ।सरकारले पीडितहरुको ८६ अर्ब पैसामा ध्यान केन्द्रीत गर्न नै नसकेको उनको भनाइ छ । उनले सरकार केवल रवि लामिछाने मुछिएको ६५ करोडको वरिपरीमात्रै घुम्दा प्रतिशोधको आशंका गर्न सकिने बताए ।
साथै, रवि लामिछाने सहकारी ठगीमा पक्राउ पर्नुमा रास्वपाभित्रको अन्तर कलहको दुस्प्रभावले पनि काम गरेको उनको दाबी छ । रास्वपा पनि जोडिएर रविलाई कारबाहीको लागि म्याण्डेड दिएको उनको भनाइ छ । ‘रवि लामिछानेको पार्टी भित्रको अन्तरकलहको उनीमाथि पर्यो, अन्यथा त संसदीय छानविन समितिमा नोट अफ डिसेन्ट लेखिहाल्थे नि । उनीहरुको दलपनि जोडिएर यो कारबाही गर भन्ने म्याण्डेड दिइएको हो,’– उनले भने ।