Logo

कांग्रेस-एमालेबीच कुनै दरार र खटपट छैनः मीन विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान सत्ता गठबन्धनमा कुनैपनि दरार, ,खटपट र अविश्वास नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धन बन्दाको सात बुँदे सहमतिअनुसार नै अहिले सरकार अगाडि बढिरहेको बताएका हुन् । ती सात बुँदे सम्झौता कार्यान्वयनमा आफूहरुले हतार नगरेपनि काम भने भइरहेको बताए ।

‘कांग्रेस–एमालेको बीचमा कुनै पनि किसिमको खटपट, दरार, अविश्वास, आशंका केहीपनि छैन । हामीले सात बुँदामा जे सहमति गरेका छौं, हतार गरेका छैनौं । तर, विस्तारै ती बुँदाहरु कार्यान्वयन गर्दै हामी अगाडि बढिरहेका छौं,’– उनले भने ।

साथै, उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमार्फत मात्रै लिन सकिने बताए । उनले बीआरआई ऋणमा लिने भन्ने सहमति नभएको बताए । नेपालले अहिलेसम्म कुनै पनि देशको सरकारसँग ऋण नलिएको दाबी गर्दै उनले भने, ‘बीआरआई भनेको चीन सरकारको कार्यक्रम भएको हुनाले हामी अनुदानमार्फतमात्रै लिन्छौं । यो ऋणको ढाँचामा होईन, अनुदानमा दिनुस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’– उनले भने ।

त्यस्तै, चीनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा नै वार्ता गरेको उनको दाबी गरे । अर्को छिमेकी मुलुक भारतले पनि नेपालको हित चाहिरहेको उनको भनाइ छ । अहिले नेपालले चीनसँग गरेको आर्थिक कारोबार र सहयोगले भारतलाई कुनै असहज नहुने बारे नेपाल पक्षले नै आस्वस्त पार्न सक्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्