काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले वर्तमान गठबन्धन सरकारसँगको बहुमत कृतिम रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा बोल्दै नेता रिजालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकार र वर्तमान सरकार दुवै कृतिम बहुमतको आडमा बनेको बताएका हुन् ।
‘अहिले हाम्रो प्राविधिक बहुमत, कृतिम महुमत छ । कृतिम बहुमत मैले यसकारण भनेको कि प्रचण्डजीले १२ पल्ट लिन्छु भन्ने कुरा गर्दा मलाई सधैं कृतिम बहुमत लाग्थ्यो । अहिले पनि कांग्रेस र एमाले एक ठाउँमा छौं, त्यसलाई कृतिम बहुमत होईन भन्न भएन । हामीले मेनुफ्याक्चर गरेको बहुमत हो, आम जनताले दिएको बहुमत होईन नि त,’– उनले भने ।
साथै, कांग्रेस र एमाले मिलेर संविधानमा देखिएका कमीकमजोरी सुधार गर्ने भनिएपनि स्थानीय तह निर्वाचनमा समेत गठबन्धनको नीति लिइएको भन्दै उनले असन्तुष्टि जनाए । ‘कांग्रेस र एमालेसँगै आएर बाटो खोजी गर्नुपर्छ भन्नेको एउटा गाउँपालिकाको निर्वाचनमा पनि कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बन्ने खालको गठबन्धन बनाउनुपर्छ भन्ने पक्षमा भनेको होईन । सरकार बनेपछि त्यहाँसम्म पुग्यौं नि त हामी,’– उनले भने ।
अहिले जनतामा चरम निराशा रहेको र सरकार त्यसलाई चिर्नेतर्फ अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।