Logo

सरकारले जनतामा निर्माण भएको गलत भाष्य चिर्न त परको कुरा, छुनपनि सकेनः हृदेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ९ पुस । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारले गर्नुपर्ने कामहरु गर्न नसकेको र नगरेको बताएका हुन् । उनले जनतामाझ बढिरहेको नकरात्मक भाष्यलाई वर्तमान सरकारले चिर्नु त परेको कुरा, छुनपनि नसकेको उनको टिप्पणी छ ।

‘जनतामा निरन्तर केही अवधिदेखि नेताहरु भ्रष्ट छन्, बेइमान छन्, पार्टीहरु काम नलाग्ने भइसके भन्ने भाष्य बन्दै गइरहेको थियो । म पनि के पक्षधर हो भने कांग्रेस–एमालेको सरकार बन्यो भने यसले स्थिरता ल्याउँछ र यो भाष्य चिर्न सरकार अगाडि बढ्ला भनेर हामी सबैले अनुमान गरेको विषय पनि हो । तर, विगतको सरकार बनिसकेपछि यो गतिविधि हेर्दाखेरी त्यसमा सरकार खरो उत्रिएन । त्यो भाष्य अझ बढिनै रहेको छ । जनतामा जुृन भाष्य निर्माण भएको छ, त्यो बढिनै रहेको छ । सरकारले जुन भाष्य चिर्नुपर्थ्यो, त्यसमा छुन पनि सकेन, चिर्न त परको कुरा हो,’– उनले भने ।

साथै, कांग्रेस–एमाले गठबन्धन सरकार संख्यात्मक रुपमा बलियो रहेको र यो ०८४ सम्मै अगाडि बढ्ने उनले बताए । ‘कांग्रेस–एमालेको सरकार संख्यात्मक रुपले हेर्ने हो भने ०८४ को चुनावसम्मै जान्छ । नेतृत्व परिवर्तन होला । उहाँहरुमा सहमति पनि भएको छ,’– उनले भने ।

साथै, सरकारमा रहेको दलका नेताले सार्वजनिक लेखा समितिको नेतृत्व गर्न नहुने उनको भनाइ छ । उनले एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्नु संसारभरीको संसदीय अभ्यासले स्थापित गरेको मूल्य मान्यता विपरीत हुने बताए । ‘यसो गर्दा प्रतिपक्षलाई नै दिइने एउटामात्रै समिति हो– सार्वजनिक लेखा समिति । जसको नेतृत्व विपक्षीले गर्छ । संसारभरीको संसदीय मूल्य मान्यताले स्थापित गरेको परम्परा नै हो यो,’– उनले भने ।

साथै, एमाले–कांग्रेस गठबन्धन सरकारले भ्रष्टाचारविरोधी कामलाई सशक्त रुपमा अगाडि बढाउन नसकेको उनको दाबी छ । उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानमा अहिले ब्रेक लागेको जस्तो देखिएको टिप्पणी गरे ।

सहकारी ठगी प्रकरण तार्किन निश्कर्षमा पुर्याउन र निश्पक्ष छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्