Logo

एमालेबाट निष्काशित भएपछि भीम रावलको आक्रोशः केपी ओली नव सामन्तको प्रतीक (भिडिओसहित)



काठमाडौं, ११ पुस । नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई निष्काशित गरेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीको सत्ता उन्मादका कारण आफू निष्काशनमा परेको बताएका हुन् । ओलीले मेरोविरुद्धमा कोहीपनि नबोलुन् भनेर यस्तो निर्णय गरेको उनले बताए ।

‘यो केपी ओलीको सत्ता उन्माद, प्रधानमन्त्री पनि भएको, पार्टीको अध्यक्ष पनि भएको सत्ताको उन्मादमा गरिएको, अब मेरो विरुद्धमा कोही पनि नबोलुन्, म स्वघोषित बा हुँ सबैको, नव सामन्तको म प्रतीक हुँ, सबैले मप्रति निष्ठा जनाउनुपर्छ भनेर च्यासलमा भएको कार्यशालाको प्रतिवेदनमा लेखेका छन्,’– उनले भने ।

ओलीले सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागेको उनले बताए । ओली कम्पनीको जग भत्किने र इमानदा कार्यकर्ताहरुबाट ओलीको कार्यविरुद्ध विद्रोहको सुरुवात हुने उनले बताए । सत्ताको उन्मादमा अगाडि बढ्नेहरु कालन्तरमा कोही पनि नटिक्ने उनको दाबी छ ।

आफूले आजसम्म नेपालको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, नेपाली जनताको हक, अधिकार, आर्थिक समृद्धि, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा, विदेशीको अगाडि लम्पसार परेर राष्ट्रिय अस्मितालाई समाप्त पार्नेहरुको विरुद्धमा, आफ्नो सत्ता स्वार्थका लागि नेपालको साधान स्रोतहरु अर्काको हातमा सुम्पनेहरुको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले कम्युनिष्ट पार्टी र नेकपा (एमाले) को घोषित नीतिहरु पनि त्यही रहेको बताए । आफ्नो कदम पनि सोहीअनुरुप रहेको उनले बताए । तर, ओलीलाई ती कुराहरु सह्य नभएको र आफूलाई कारबाही गरिएको उनले बताए ।

देश हितविरीत, भ्रष्टाचार, अनैतिक र देशलाई खत्तम पार्छु भन्नेहरुसँग ओलीको साँठगाँठ रहेको र आफूले आवाज उठाउँदा व्यवधान उत्पन्न हुनेभएपछि स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई कारबाही गरिएको नेता रावलको दाबी छ । File Photo/RN

यो पनि पढ्नुहोस्ः भीम रावल एमाले रहेनन्, ओलीले बर्साए दण्डा



प्रतिक्रिया दिनुहोस्