Logo

आङ्काजीको टिप्पणीः रवि लामिछानेको मानवअधिकार हनन् भयो भन्नु लज्जास्पद



काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन् भयो भन्नु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । बुधबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

रास्वपाले आफ्नो पक्षमा निर्णय गर्दा न्यायलय ठीक र प्रतिकूल फैसला गरे बेठीक भन्ने भाष्य निर्माण गर्न खोजेको उनको टिप्पणी छ । उनले यस्ता कुरा गर्नु राजनीतिज्ञका लागि शोभनीय नहुने बताए ।

नेता शेर्पाले कुनै स्टन्टबाजी नगरी जनतामाझ आफूमाथि लागेको आरोप गलत थियो भनेर प्रमाणित गराएर देखाउन लामिछानेलाई चुनौति दिए । पञ्चायत कालमा नेताहरुको जिब्रो र पैतालामा समेत करेन्ट लगाइएको स्मरण गराउँदै उनले लामिछानेलाई लेनबाट पोखरा र पोखराबाट भरतपुर लगिएको बताए ।

‘विगतमा धेरै नेताहरु जेल बसेर आएका हुन् । एमालेका धेरै नेता जेल बसेका छन्, कांग्रेसका धेरै नेता जेल बसेका छन् । यातना कस्तो थियो ? आज उसलाई प्लेनबाट पोखरा, पोखराबाट भरतपुर लगेको छ । उसको मानवअधिकार हनन् भयो रे ? के भनेको ? लज्जास्पद कुरा । मान्छेको जिब्रोमा र पैतालामा करेन्ट लगाइएको छ पञ्चायत कालमा त्यसको कुरा छैन । उसलाई राति उठाएर गाडीबाट लाँदा मानवअधिकार हनन् भयो रे ?’ प्रश्न गर्दै उनले भने ।

साथै, रेशम चौधरीलाई नौ धार्नीको फलामको साङ्लो लगाएर वीर अस्पतालमा उपचार गराइएको प्रसंग उल्लेख गर्दै उनले त्यो बेला रविले मानवअधिकारको पक्षमा नबोलेको बताए । गत स्थानीय तह उपनिर्वाचनले रास्वपा, राप्रपालगायतका राजनीतिक दललाई जनताले तिरस्कृत गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्