Logo

भीम रावललाई प्रश्नः अब तपाईँ एकीकृत समाजवादीमा कि माओवादीमा जाँदै हुनुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, ११ पुस । नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले तत्काल कुनै पार्टीमा पनि नलाग्ने प्रतिक्रिया दिएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उनले आफू तत्काल एकीकृत समाजवादी वा माओवादी कुनै पार्टीतिर पनि नलाग्ने बताएका हुन् । ‘अब तपाईँ एकीकृत समाजवादीमा कि माओवादीमा जाँदै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘म अहिले नेकपा (एस) मा पनि जान्न, माओवादीमा पनि जान्न ।’ केपी ओलीको कारबाही र सदस्यता निष्काशनबाट आफूलाई केही फरक नपर्ने उनको भनाइ छ । ओलीले भन्दा बढी संगठन आफूले बनाएको बताउँदै नेता रावलले आफू कतिपनि विचलित नरहेको बताए ।

‘केपी ओलीले मलाई सदस्यता दिएको पनि होईन । म आफ्नै बल बुतामा अनेक प्रकारका लडाईँ, संघर्षबाट केपी ओलीको भन्दा बढी संगठन मैले निर्माण गरेको छु । त्यसकारण म आफ्नो कुरामा दृढ छु । म विचलित छैन । तर, भोलिको लागि संगठनात्मक रुपमा कस्तो पाइला चाल्ने भन्ने कुरा पत्रकार, बुद्धिजिबी, नागरिक समाज, जनता, एमालेका देशभक्त पङ्ति, अरु दलका देशभक्त पङ्तिको सल्लाहअनुरुप पाइला चाल्छु,’– उनले भने ।

आफूमाथिको कारबाहीलाई उनले ओलीको आरालो यात्राको तीब्रताको संज्ञा दिए । नेता रावलले नेपालको पक्षमा, देशको हितको पक्षमा, कुशासन, भ्रष्टाचार, अनैतिक मान्छेहरुलाई प्रश्रय दिने ओलीको नीतिविरुद्धमा रहेका एमालेका कार्यकर्ताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे । उनले एमालेका कार्यकर्ताहरु गलत र तानाशाही निर्णयको पक्षमा नरहने बताए । ‘यो एउटा क्षणिक कुरा मात्रै हो । तत्काल मान्छेहरु तर्सेर, आफ्नो स्वार्थको लागि, पद पो जान्छ कि, केही हुन्छ कि भनेर मान्छेहरु हच्किन सक्छन् । तर, सदाकाल त्यो स्थिति अवस्य पनि रहँदैन । तपाईँ बुझ्नुस्, केपी ओलीले तानाशाही, निरङ्कुश जुन निर्णय गरेका छन्, यहीँबाट यिनको ओरालो यात्रा अझ तीब्र हुन्छ,’– उनले भने ।

ओलीले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि दर्जनौं मानिसहरुलाई उपयोग गरेको र आफूले उपयोग हुन नमानेपछि, सिद्धान्तमा र देशभक्त भएर नेपालको पक्षमा अडिएपछि कारबाही गरिएको उनले बताए । उनले ओलीलाई अनैतिक, तानाशाही र भ्रष्टको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्