काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले नेतृत्वमाथि प्रश्न गर्ने नेतामाथि कारबाहीको दण्डा चलाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले तीन जना नेतालाई कारबाही गरेपछि एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बनेको टिप्पणी भइरहेको छ ।
बुधबार एमालेको करिब ६ घण्टा लामो सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोस्दै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तम्लिसेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टी हितविरुद्ध निरन्तर आवाज उठाएपछि रावलको सदस्यता खोसिएको एमालेको जिकिर छ ।
भीम रावललाई गरेको कारबाहीप्रति एमाले सांसद पदम गिरीले समथन जनाएका छन् । गिरीले एमालेले रावललाई शीरमै राख्दा पनि रावलले आफू असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने काम गरिरहेको आरोप लगाएका छन् ।
यस्तो छ रावलको कारबाहीबारे गिरीको धारणा
पार्टी सचिवालयको भीम रावललगायतको कारबाहीलाई लिएर एमाले भित्र भन्दा एमाले भन्दा फरक पार्टी कार्यकर्ताबाट बढी चिन्ता किन प्रकट भएको होला ?
पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुइयाको प्रभाव परेको हो कि ? के भीम रावलमाथि पार्टीले अन्याय नै गरेको हो त ?
यता फर्केर हेरौँ न त,
भीम रावलले विगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न मिल्दैन । सँगसँगै उहाँलाई पार्टीले शीरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन ।
-२०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)
-०५२ सालमा पर्यटन राज्यमन्त्री,
-२०५५ मा पर्यटन मन्त्री
-२०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन,
-२०६४ मा समानुपातिक सभासद्
-२०६६ मा गृहमन्त्री,
-२०७२ मा उपप्रधानसहित रक्षामन्त्री ।
उहाँको प्रवृति,
बुटवल महाधिवेशनमा उपाध्यक्ष हार्नुभयो तर केन्द्रीय सदस्य बन्नुभयो तर महिनौँसम्म शपथ लिनुभएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव सरकारको गृहमन्त्री पाउने भएपछि हतार हतार भर्याङ्गमुनी केन्द्रीय सदस्यको शपथ लिनुभयो ।
– एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको अवस्थामा ह्विप उलङ्घन गरी एमसिसी पारित गर्ने संसद् बैठक भाग लिनुभयो ।
– माधव नेपाल पार्टी विभाजन गरेपछि बृहत् पार्टी एकता कायम राख्ने र अगाडि बढ्न १० बुँदे सहमति भयो, उक्त सहमतिका पक्षमा सबै नेताहरू तयार हुनुभयो तर भीम रावल कार्यान्वयनमा नलागी पार्टी हित विरुद्ध बोल्दै हिँड्नुभयो ।
– पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पद स्वीकार्नुभएन, केन्द्रीय सदस्य बन्नुभएन, अनि पार्टीले विधान बमोजिम दिएको सल्लाहकार पदलाई स्वीकार पनि गर्नुभएन र पार्टी हितविरुद्व निरन्तर बोलिरहनुभयो । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन हिँड्नुभएन बरु असन्तुष्टि पोखिरहनुभयो जसका कारण उहाँकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजवादीले जित्न पुग्यो अरू थुप्रै क्षति व्यहोर्नुपर्यो ।
– राष्ट्रिय मुद्दाका कयौँ विषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागि मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्वलाई दबाबमा राख्न खोज्ने अर्थात् आफू असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिविधि खुलेआम गरिरहनुभयो ।
– पार्टी कार्यालय भवन बनाउने पार्टीको निर्णयका विषयमा पार्टीमा होइन पब्लिक खपतका निम्ति बाहिर बोलिरहनुभयो र सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टीकरण माग्दा जवाफ समेत दिनुभएन ।
के यसै गरी मनलाग्दी बोल्ने, पार्टी हितकाविरुद्व गतिविधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भीम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो कोही पनि पार्टी विधि विधान र अनुशासनमा बस्नपर्दछ अन्यथा कम्युनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।