काठमाडौं, ११ पुुस । राष्ट्रवादी बृहत समूहले गोलमेच सम्मेलनको आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मेलनको बारेमा जानकारी गराइएको हो । राष्ट्रवादी बृहत् समूहका संयोजक किशोरी महतोले आगामी पुस १३ गते शनिबार सम्मेलनको आयोजना गरिएको बताए ।
संयोजक महतोले जनता, राजा र दलहरुबीच एकता गराएर देशको निकास खोज्न सम्मेलनको आयोजना गरिएको बताए । उनले सो सम्मेलनका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीबी र राजनीतिककर्मीहरुलाई पनि बोलाइएको उनले बताए । ‘हामी अनेकतामा एकता गरेर अगाडि बढ्दैछौं । गणतन्त्रवादी, प्रजातन्त्रवादी, राजतन्त्रवादी एकै कुर्सीमा आएर गोलमेच सम्मेलनबाट हामी देशको निकास चाहन्छौं,’– उनले भने ।
त्यस्तै, नेवा एकता तथा नागरिक समाजका कार्यकारी प्रमुख रमेश खड्गीले जनताले चुनेर पठाएकाहरुले मनलाग्दी गरिरहेको बताए । उनले अब सबै एक भएर अगाडि बढ्नुपर्ने बताए । ‘अब हामी एक भएर अगाडि बढ्नुपर्छ । यदि नेवारहरु उठेनन् भने यो देश रहँदैन । अब हामी ठाउँ–ठाउँबाट, गाउँ–गाउँबाट एकतावद्ध भएर उठ्ने छौं,’– उनले भने ।
त्यस्तै, पत्रकार एवं समाजसेवी प्रेम कैदीले नेपाललाई दुईवटै मित्र राष्ट्रहरुले धोका दिएको टिप्पणी गरे । चीन–भारतले भन्दापनि सबैभन्दा बढी धोका कांग्रेस–एमालेको सरकारले जनतालाई दिइरहेको बताए । देश र जनतालाई जगाउन सम्मेलन सञ्चालन गर्न लागिएको उनले बताए ।
उनले नेपालको कोही पनि गणतन्त्रवादी नेता नरहेको दाबी गरे । उनले नेताहरुलाई गुण्डाको संज्ञा दिए । नेताहरुले नेपालको तहसनहस गरिरहेको बताए ।