काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो रिट खारेज गरेको हो ।
दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रिट दायर गरेका थिए । सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गरेका थिए ।
एनसलेको ८० प्रतिशत शेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् । सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिट खारेज गरेको सर्वोच्चले निर्देशनात्मक आदेश भने जारी गरेको छ । उक्त निर्देशनात्मक आदेशमा के छ भन्ने कुरा पछि थाहा हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।