Logo

माधव नेपालको पालादेखि नै एमाले विचारबाट स्खलित भयोः राजनीतिक विश्लेषक संग्रौला (भिडिओसहित)



काठमाडौं, १२ पुस । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले नेपालका सबै राजनीतिक दलहरुले वैचारिक पक्ष छाडेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले प्रजातान्त्रिक समाजवाद, वामपन्थीहरुको मार्क्सवाद, लेलिनवाद र प्रचण्डले माओवाद छाडिसकेको बताए ।

‘एउटामात्रै पार्टीमा होईन, अहिले म सबै राजनीतिक दलमा के देखिरहेको छु भने नि– जे विचारधारा बोकेर आएको भनिएको छ, त्यो विचारधारा दलमा छैन । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद हो, त्यो रहेन । वामपन्थीहरुको मार्क्सवाद, लेलिनवाद हो, त्यो रहेन । प्रचण्डजीको माओवाद पनि रहेन । विचार नै क्षय हुन्छ, अरु प्रवृत्तिहरु त्यसैबाट निर्धारण हुन्छन् । जब विचार कमजोर हुन्छ, तब गुटहरु बन्छ,’– उनले भने ।

साथै, नेकपा (एमाले) केपी शर्मा ओलीको पालाबाट मात्रै विचारमा स्खलित नभएको उनको दाबी छ । उनले तत्कालीन महासचिव माधव कुमार नेपालको पालादेखि एमाले विचारबाट स्खलित हुन थालेको बताए । त्यसबेलादेखि नै माधव नेपालले गुटगत राजनीतिको सुरुवात गरेको र उनी नेतृत्वमा रहुन्जेलसम्म जताततै माधव कमरेड, माधव कमरेड मात्रै सुनिने गरेको उनले बताए । ‘केपी ओलीभन्दा अगाडि १८ वर्ष माधव नेपालको कसले विरोध गर्थ्यो र ? माधव नेपालकै पालामा राजनीतिक विचार धारा स्खलित भइसकेको थियो । सबै माधव कमरेड, माधव कमरेड थियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्